प्रदीप ज्ञवालीको सम्पत्ति विवरण सार्वजनिक
पार्टीलाई ९ लाख ३४ हजार लेबी, ७ लाख ४१ हजार वचत
काठमाडौं/२२ जेठ
निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको छ ।
सरकारबाट बाहिरिए लगत्तै ज्ञवालीले झण्डै सवा ३ वर्ष परराष्ट्रमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले पाएको तलब–भत्ताबाट पार्टीलाई दिएको लेभी र कर कट्टीपछिको वचत विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु भएको हो ।
उहाँले मन्त्रीकालमा विदेश भ्रमण बापतको लेवी ३ लाख १४ हजार ९ सय ३० रुपियाँ र पारिश्रमिक बापतको लेवी ६ लाख २० हजार रुपियाँ गरी ९ लाख ३४ हजार ९ सय ३० रुपियाँ पार्टीको खातामा जम्मा गरिएको बताउनु भएको छ । साथै, कर बापतको ३ लाख ७२ हजार ४ सय ९१ रुपियाँ सरकारी कोषमा दाखिला गरिएको र हाल आफ्नो बैङ्क खातामा ७ लाख ४१ हजार ७७५ रुपियाँ बचत रहेको विवरण ज्ञवालीले सार्वजनिक गर्नु भएको हो ।
उहाँले आफू मन्त्री हुँदा घरमा केही सामान र दुई सय जति पुस्तकहरू थपिएको उल्लेख गर्नु भएको छ । ज्ञवालीले आफूले प्रयोग गर्दै आउनु भएको सरकारी सवारीसाधन र ल्यापटप शुक्रबार नै मन्त्रालयलाई फिर्ता गरिसकेको बताउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने ज्ञवाली हाल एमाले प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ ।
Comments