Byroad News

Loading...

तीन उपप्रधानसहित १७ सदस्यीय मन्त्रिपरिषद् गठन


तीन उपप्रधानसहित १७ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौं/२१ जेठ 
कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको हो । मौजुदा मन्त्रिपरिषदबाट भने एक उपप्रधानमन्त्रीसहित १३ जना हटाउनु भएको छ ।
नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्री नियुक्त गर्नु भएको छ भने नेकपा एमालेका रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि उपप्रधानमन्त्री मै नियुक्त हुनु भएको छ ।

उपप्रधानमन्त्री महासेठलाई परराष्ट्र र महतोलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी, नयाँ मन्त्रिमण्डलमा जसपाबाट महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिंचाइ, अनिलकुमार झा खानेपानी, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय मन्त्री बन्नु भएको छ । यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त हुनु भएको छ । जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त हुनु भएको छ ।

नयाँ मन्त्रिपरिषद गठन हुँदै गर्दा एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिनु भएको छ । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्‍माकुमारी अर्याल, सञ्चारमन्त्री पार्वत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे बाहिरिनु भएको हो । यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि बाहिरिनु भएको छ । स्वास्थ्य राज्यमन्त्री नवराज राउत, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट बाहिरिनु भयो ।

मौजुदा मन्त्रिपरिषद्का चार मन्त्री भने नयाँ मन्त्रिपरिषदमा पनि पर्नु भएको छ । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई जिम्मेवारी कायमै राखिएको हो ।

शुक्रबारको विस्तारपछि पनि गृहसहित केही मन्त्रालय अझै मन्त्रीविहीन रहेका छन् । रामबहादुर थापा बादल पदमुक्त भएपछि खाली भएको गृहसँगै रक्षा, सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय अझै पनि मन्त्रीविहीन छन् । हाललाई यी सबै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्नुहुनेछ ।

नवनियुक्त मन्त्रीहरूले शुक्रबार नै पद तथा गोपनियताको शपथ र पदभार ग्रहण गर्नु भएको छ । 

Comments

KATHMANDU WEATHER